नेपालको राजनीतिक इतिहासमा २००६ साल वैशाख १० गते एउटा नयाँ अध्याय सुरु भयो। भारतको कोलकातामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना भयो। यो केवल एउटा राजनीतिक दलको जन्म थिएन, बरु सामन्ती उत्पीडन, राणा निरंकुशता, वर्गीय विभेद र सामाजिक असमानताविरुद्ध नेपाली जनताको संगठित वैचारिक संघर्षको सुरुवात थियो।
आज ४८औँ पुष्पलाल स्मृति दिवस मनाइरहँदा हामी केवल एक महान् नेताको सम्झनामा सीमित हुनुहुँदैन। उनले देखाएको बाटो, कम्युनिस्ट आन्दोलनको सात दशकभन्दा लामो यात्रा, त्यसका उपलब्धि, कमजोरी र भविष्यको दिशाबारे गम्भीर समीक्षा गर्नु आवश्यक छ।
पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक मात्र होइनन्, उनी गम्भीर राजनीतिक चिन्तक, कुशल संगठनकर्ता र प्रगतिशील लेखक पनि थिए। उनले मार्क्सवाद–लेनिनवादलाई नेपाली समाजको वास्तविकतासँग जोडेर व्याख्या गर्ने प्रयास गरे। राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, सामाजिक न्याय र समाजवादलाई उनले परस्पर विरोधी होइन, एकअर्काका पूरक लक्ष्यका रूपमा व्याख्या गरे।
उनले कम्युनिष्ट आन्दोलनलाई जनतासँग जोड्ने, राष्ट्रियताको रक्षा गर्ने र लोकतान्त्रिक अधिकारको पक्षमा उभिने स्पष्ट दृष्टिकोण दिएका थिए। उनको जीवन त्याग, इमानदारी र वैचारिक निष्ठाको उदाहरण बनेर आज पनि प्रेरणाको स्रोत छ।
नेकपा स्थापना भएपछि राणा शासनविरुद्धको आन्दोलनमा कम्युनिष्टहरुको सक्रिय भूमिका रह्यो। २००७ सालको राजनीतिक परिवर्तनपछि पनि आन्दोलनले निरन्तर जनताको पक्षमा आवाज उठायो। तर वैचारिक मतभेद, संगठनात्मक कमजोरी र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको प्रभावका कारण पार्टीभित्र विभाजनको क्रम सुरु भयो।
राजा महेन्द्रले २०१७ सालमा निर्वाचित सरकार विघटन गरी पञ्चायती व्यवस्था लागू गरेपछि कम्युनिष्ट आन्दोलन फेरि भूमिगत संघर्षमा प्रवेश गर्यो। हजारौं नेता कार्यकर्ताले जेल, यातना, निर्वासन र दमनको सामना गरे। यद्यपि आन्दोलन रोकिन सकेन।
नेपाली कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो कमजोरी बारम्बारको विभाजन रह्यो। विभिन्न वैचारिक धार, रणनीति र नेतृत्वबीचको मतभेदका कारण अनेकौं कम्युनिष्ट समूह बने। कोही संसदीय राजनीतिमा केन्द्रित भए भने कोही सशस्त्र संघर्षको पक्षमा उभिए।
विभाजनले आन्दोलनको शक्ति कमजोर बनायो। जनतामा भ्रम पैदा गर्यो। एउटै उद्देश्य बोकेका शक्तिहरू फरक–फरक झण्डामुनि उभिँदा आन्दोलनको प्रभाव पनि विभाजित भयो।
जनआन्दोलन, जनयुद्ध र गणतन्त्र
२०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट शक्तिहरूले महत्वपूर्ण भूमिका खेले। बहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो र खुला राजनीतिमा कम्युनिष्ट दलहरू जनमतका आधारमा स्थापित हुन थाले।
२०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्धले नेपालको राजनीतिलाई नयाँ मोड दियो। दशक लामो द्वन्द्वले ठूलो मानवीय चेतना स्तर बढायो, तर यसले राज्य संरचनामाथि व्यापक बहस पनि जन्मायो। २०६२/६३ को जनआन्दोलनपछि शान्ति प्रक्रिया अघि बढ्यो, माओवादी मूलधारमा आयो र अन्ततः २०६५ सालमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषित भयो।
नेपाली जनताले विभिन्न निर्वाचनमा कम्युनिष्ट शक्तिलाई पटक–पटक ठूलो जनादेश दिएका छन्। स्थानीय, प्रदेश र संघीय तहमा सरकार सञ्चालन गर्ने अवसर पनि दिएका छन्। तर त्यो विश्वासलाई दीर्घकालीन रूपमा जोगाउन भने आन्दोलन पूर्ण रूपमा सफल हुन सकेन।
भ्रष्टाचार, गुटबन्दी, सत्ता केन्द्रित राजनीति, व्यक्तिगत महत्वाकांक्षा, सुशासनको अभाव, उत्पादन र रोजगारीमा अपेक्षित सुधार हुन नसक्नु तथा जनतासँगको दूरी बढ्नु आन्दोलनका प्रमुख चुनौती बने।
विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ। कृत्रिम बौद्धिकता, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, विश्वव्यापी प्रतिस्पर्धा, वैदेशिक रोजगार र नयाँ पुस्ताको आकांक्षाले नयाँ राजनीतिक सोचको माग गरिरहेका छन्।
आजको कम्युनिष्ट आन्दोलनमा केवल पुराना नाराले पुग्दैन। उत्पादनमुखी अर्थतन्त्र, कृषि आधुनिकीकरण, औद्योगिकीकरण, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, विज्ञान–प्रविधिमा लगानी, सामाजिक सुरक्षा, पारदर्शी शासन र भ्रष्टाचारमाथि शून्य सहनशीलताको स्पष्ट कार्यक्रम प्रस्तुत गर्नुपर्छ।
पुष्पलाल कम्युनिष्ट आन्दोलनको शक्ति एकतामा देखेका थिए। उनले व्यक्तिगत महत्वाकांक्षाभन्दा विचारलाई, गुटभन्दा संगठनलाई र सत्ताभन्दा जनतालाई प्राथमिकता दिएका थिए।
आज उनको स्मृति दिवसमा सबै कम्युनिष्ट शक्तिले आत्मसमीक्षा गर्न आवश्यक छ। जनताको विश्वास गुमाउने राजनीति होइन, जनताको जीवन बदल्ने राजनीति नै पुष्पलालप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।
४८औँ पुष्पलाल स्मृति दिवस केवल विगत सम्झने दिन मात्र होइन, भविष्य निर्माण गर्ने प्रेरणाको दिन पनि हो।
आज आवश्यकता नयाँ आत्मसमीक्षाको, नयाँ एकताको, नयाँ वैचारिक स्पष्टताको र नयाँ जनसम्बन्धको छ। पुष्पलालको सपना अधुरो छैन, तर त्यसलाई पूरा गर्न इमानदार नेतृत्व, जनमुखी नीति, लोकतान्त्रिक संस्कार र राष्ट्रिय हितप्रतिको अटल प्रतिबद्धता आवश्यक छ।
पुष्पलाललाई सम्झने सबैभन्दा ठूलो श्रद्धाञ्जली फूल चढाउनु मात्र होइन, उनले देखाएको विचार, नैतिकता, जनपक्षीय राजनीति र एकताको मार्गलाई व्यवहारमा उतार्नु हो। त्यही मार्गले नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनः जनविश्वासको केन्द्रमा स्थापित गर्न सक्छ।





