दिप देवकोटा
नेपालगञ्ज, असार ४ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा नवीकरणका लागि आवश्यक पर्ने मेडिकल जाँचको प्रमाणपत्र वितरणमा अनियमितता गरेको आरोपमा बाँकेको नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयबाट एक चिकित्सकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार लाइसेन्स लिन तथा नवीकरण गर्न आउने सेवाग्राहीको मेडिकल जाँच प्रक्रियामा मिलेमतो गरी अनधिकृत रूपमा रकम असुली भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले निगरानी तथा अवलोकन गरेको थियो।
प्रहरीका अनुसार चिकित्सकले मेडिकल रिपोर्टमा हस्ताक्षर गर्ने, छाप लगाउने तथा अन्य कर्मचारीले निवेदकको नाममा ठेगाना लेखी प्रति प्रमाणपत्र रु. २०० असुल्दै वितरण गरिरहेको भेटिएपछि कारबाही गरिएको हो।
सो कार्यमा संलग्न रहेको आरोपमा सही–छाप गर्ने चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
यातायात कार्यालयजस्तो सार्वजनिक सेवा प्रवाह हुने संवेदनशील निकायभित्रै सेवाग्राहीबाट अतिरिक्त रकम उठाएर प्रमाणपत्र वितरण गरिएको आरोप सार्वजनिक भएपछि घटनाले व्यापक चासो पैदा गरेको छ। लाइसेन्स प्रक्रियामा हुने बिचौलिया गतिविधि र अनियमिततामाथि समेत प्रश्न उठेको छ।
प्रहरीले पक्राउ परेकाहरूको नाम तथा थप विवरण अनुसन्धानको चरणमा रहेकाले सार्वजनिक नगरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।
“सेवाग्राहीलाई सहज सेवा दिनुपर्ने कार्यालयमै नियमविपरीत रकम असुली भएको सूचनापछि निगरानी गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा चिकित्सकसहित पाँच जना संलग्न देखिएकाले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ,” प्रहरी स्रोतले जनाएको छ।





