नेकपा (एमाले) जिल्ला कमिटीको आठौं पूर्ण बैठक आज पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकले फाल्गुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीको पराजयका कारणबारे विस्तृत समीक्षा गर्दै आन्तरिक तथा बाह्य दुवै कारणहरू जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।

बैठकमा सुर्य रोकाया, तुलसीराम थारु, मोहित शाह, कृष्णकुमार लम्साल, रत्न खत्री, बसन्ती अधिकारी, कुलबहादुर भट्टराई, मुना कठायत, भीमराना भाट, दोण थापा, मानबहादुर खत्री तथा एन. बहादुर हमाललगायत दर्जनौं नेताहरूले आफ्ना धारणा राखेका थिए।
बैठकमा प्रस्तुत विचारअनुसार, निर्वाचनअघि २३ र २४ गते घटेका घटनाहरूले समग्र राजनीतिक वातावरणमा प्रभाव पारेको र त्यसको असर फाल्गुन २१ गतेको निर्वाचन परिणाममा समेत परेको विश्लेषण गरिएको छ। ती घटनासँग सम्बन्धित राजनीतिक व्यक्तित्वहरू—गगन थापा, चन्द्र भण्डारी तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’—र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिकाबारे पनि विभिन्न धारणा व्यक्त गरिएका थिए।
युवा नेता कुलबहादुर भट्टराईले २००७ सालदेखि प्रत्येक १० वर्षमा नेपालमा कुनै न कुनै राजनीतिक उथलपुथल हुँदै आएको उल्लेख गर्दै २०९२ सालतर्फ सम्भावित परिस्थितिबारे एमालेले अहिलेबाटै गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी, सुर्य रोकायाले एमाले किसान र मजदुरको पार्टी भए पनि यसपटक दुवै वर्गबाट अपेक्षित मत नआएको उल्लेख गर्दै गम्भीर समीक्षा आवश्यक रहेको बताए। भास्कर काफ्लेले पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीले निर्माण गरेका कार्यकर्ताहरू अझै प्रतिबद्ध रहेको तर पछिल्लो पुस्ताका कार्यकर्तामा त्यस्तो प्रतिबद्धता किन देखिएन भन्ने प्रश्न उठाए।
मुना कठायतले जिम्मेवारी पूरा गर्न नसक्नु, नेताहरूको प्रभावकारी प्रस्तुति अभाव र पार्टीप्रति मतदाताको विश्वास घट्नु पराजयका प्रमुख कारण भएको धारणा व्यक्त गरिन्। एन. बहादुर हमालले एमाले, कांग्रेस र माओवादी कार्यकर्ताहरूको मनोविज्ञान—पार्टी नबदल्ने तर मत परिवर्तन गर्ने प्रवृत्ति—नबुझी सही निष्कर्षमा पुग्न नसकिने बताए।
कृष्णकुमार लम्सालले नेपालको हरेक निर्वाचनले नयाँ सन्देश दिने उल्लेख गर्दै यसपटकको निर्वाचनले जनताको अपेक्षा र मनोविज्ञान बुझ्न नसक्दा ठूला पार्टीसमेत पराजित हुन सक्ने सन्देश दिएको बताए।
दोण थापाका अनुसार जनअपेक्षा र कार्यसम्पादनबीचको अन्तर, नेतृत्व र कार्यकर्ताबीच दूरी, आन्तरिक गुटबन्दी, उम्मेदवार चयनमा विवाद, कमजोर प्रचार रणनीति, स्थानीय मुद्दाको बेवास्ता, युवापुस्तालाई आकर्षित गर्न नसक्नु, विपक्षी गठबन्धनको प्रभाव तथा जनविश्वासमा कमी जस्ता कारणहरू पराजयका मुख्य पक्ष हुन्।
महेश चौधरीले राजनीतिक गतिविधिमा अत्यधिक “नाटकीयता” देखिएको उल्लेख गर्दै मतदाताले त्यसलाई रुचाउन नसकेको बताए। रत्न खत्रीले रास्वपामा गएको मत पार्टीप्रतिको आकर्षणभन्दा पनि एमाले र कांग्रेसप्रतिको असन्तुष्टिको संकेत भएको धारणा राखे।
बैठकमा पार्टीभित्र जिम्मेवारीमा रहेका व्यक्तिहरूको सक्रियता मूल्यांकन गर्न सामाजिक सञ्जाल गतिविधि समेत हेर्नुपर्ने सुझाव दिइएको छ। पार्टीको चुनाव चिन्ह ‘सूर्य’ मा खुला रूपमा समर्थन नगर्ने व्यक्तिलाई जिम्मेवारीबाट मुक्त गरी इमानदार र सक्रिय कार्यकर्तालाई अवसर दिनुपर्ने धारणा व्यक्त गरिएको छ।
बैठकले निष्कर्ष निकालेको छ कि एमालेको हार कुनै एक कारणले मात्र नभई संरचनात्मक, संगठनात्मक तथा रणनीतिक कमजोरीहरूको परिणाम हो। तथापि, यसलाई सुधार र सिकाइको अवसरका रूपमा लिनुपर्नेमा जोड दिइएको छ। जनताको विश्वास पुनः जित्न पारदर्शिता, उत्तरदायित्व, सक्रियता र एकताको आवश्यकता रहेको निष्कर्ष बैठकले निकालेको छ।






