कोहलपुर असोज २७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका विभिन्न आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ। पार्टीले छानबिन प्रक्रिया निष्कर्षमा नपुगेसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।


रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सुनारमाथि लागेका आरोपको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो।
विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता गम्भीर विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भएको उल्लेख गर्दै पार्टीले ती विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति अवलम्बन गरेको स्पष्ट पारेको छ। अनुसन्धान निष्पक्ष रूपमा अघि बढोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले सुनारलाई औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको पार्टीको भनाइ छ।
पार्टीले यस प्रकरणमा राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ। साथै, सरकारी अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा आफूहरू दृढ रहेको उल्लेख गर्दै रास्वपाले आन्तरिक तथा सरकारी अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानअनुसार थप कदम चालिने जनाएको छ।

पार्टीका अनुसार कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीले राजनीतिक संरक्षण पाउने छैनन्। यसले आरोपमा मुछिएका व्यक्तिको राजनीतिक हैसियतभन्दा पनि अनुसन्धान र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने पार्टीको आधिकारिक धारणा प्रस्तुत गरेको छ।






