Friday, November 20, 2026

कोहलपुर । साहित्यिक सिर्जनाको सम्मान र नयाँ कृतिको सार्वजनिकतासँगै पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आफ्नो साहित्यिक गतिविधिलाई थप उचाइ दिएको छ। प्रतिष्ठानले बद्रीविक्रम पूर्णिमा साहित्य पुरस्कारबाट चार जना स्रष्टालाई सम्मान गर्नुका साथै अध्यक्ष डा. पुष्कर रिजालको कविता सङ्ग्रह ‘धरहराको बकपत्र’ विमोचन गरेको छ।
कर्मयोगी बद्रीविक्रम थापाको स्मृतिमा उनका छोरा किरण  थापाले स्थापना गरेको पुरस्कार २०८२ र २०८३ का लागि दुई विधामा प्रदान गरिएको हो। पुरस्कारअन्तर्गत वाङ्मय र युवा प्रतिभा विधामा चार स्रष्टा सम्मानित भएका हुन्।
२०८२ को बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार नेपालगन्जका उर्दू साहित्यकार मुस्तफ़ा अहसन क़ुरैशीले प्राप्त गरेका छन्। २०८३ को उक्त पुरस्कार बालसाहित्यकार तथा बालसाहित्य समाजका केन्द्रीय अध्यक्ष विजयराज आचार्यलाई प्रदान गरिएको छ।
त्यस्तै, २०८२ को युवा प्रतिभा पुरस्कार कैलालीका कवि तथा सञ्चारकर्मी पुष्पराज जोशी र २०८३ को पुरस्कार बर्दियाकी कवि निरञ्जना चन्द ‘निरू’लाई प्रदान गरिएको हो। सम्मानित चारै जनाले जनही २० हजार रुपैयाँसहित दोसल्ला, माला र सम्मानपत्र प्राप्त गरेका छन्।
८८ कवितामार्फत जीवन, समाज र संवेदनाको अभिव्यक्ति
पुरस्कार वितरणसँगै सार्वजनिक गरिएको डा. रिजालको कविता सङ्ग्रह ‘धरहराको बकपत्र’ कार्यक्रमको अर्को महत्त्वपूर्ण आकर्षण बन्यो। प्रमुख अतिथि प्रा. डा. गोपालप्रसाद अधिकारीसहित साहित्यिक क्षेत्रका विभिन्न व्यक्तित्वले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए।
कृतिमाथि टिप्पणी गर्दै अधिकारीले रिजालका कवितामा पूर्वीय काव्यशास्त्रका मूल्य, मानवतावादी चिन्तन र नेपाली जनजीवनको यथार्थ चित्रण भेटिने बताए। बालकदेखि प्रौढसम्मका संवेदना समेट्नु, ध्वनिगत सबलता र भावगत गहिराइ कृतिका उल्लेखनीय पक्ष रहेको उनको भनाइ थियो।
साहित्यचिन्तक नीलकण्ठ रेग्मीले सङ्ग्रह मातृवन्दनाबाट सुरु भएर जन्मभूमिप्रतिको श्रद्धामा टुङ्गिएको उल्लेख गर्दै यसका ८८ वटै कविताको काव्यिक पक्षमाथि चर्चा गरे। समीक्षक डा. हरिप्रसाद तिमिल्सिना र डा. खोपीराम वली क्षेत्रीले कृतिमा बिम्ब, मिथक, इतिहास, संस्कृति र समसामयिक चेतनाको संयोजन रहेको बताए।
कार्यक्रममा साहित्यकार नरेन्द्रजङ्ग पिटर, महानन्द ढकाल, ईश्वरीप्रसाद रिजाललगायतले साहित्य र सिर्जनाको महत्त्वमाथि धारणा राखेका थिए। सागर गैरेले सम्मानित स्रष्टाहरूको परिचय प्रस्तुत गरेका थिए भने प्रतिष्ठानका पूर्वअध्यक्ष कपिल अञ्जानले संस्थाका गतिविधिबारे जानकारी गराएका थिए।
प्रतिष्ठानका अध्यक्ष डा. रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव प्रकाश मरासिनीले स्वागत र सचिव केशव निमेषले सञ्चालन गरेका थिए। बाँके, बर्दिया, कैलाली, दाङ, सुर्खेत, दैलेख र जुम्लालगायत क्षेत्रका एक सयभन्दा बढी साहित्यकार, प्राध्यापक, शिक्षक तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।