कोहलपुर, बाँके। बाँकेको कोहलपुरमा सञ्चालित आर.एम. अस्पताल प्रा.लि.ले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै सघन उपचार कक्ष (आईसीयू) सेवा समेत सुरु गरेको छ। अस्पतालले ७ बेडको आईसीयू, ५ बेडको एनआईसीयू र ५ बेडको एचडीयु सेवा सुरु गरेको हो ।
अस्पतालका प्रबन्ध निर्देशक डा. गोविन्द प्रसाद थारुका अनुसार बिरामीलाई आवश्यक विशेषज्ञ उपचार स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्यले आईसीयू सेवा सञ्चालनमा ल्याइएको हो।
अस्पतालले २४ सै घण्टा इमर्जेन्सी सेवासहित विभिन्न रोगका विशेषज्ञ चिकित्सकमार्फत उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा पेट, छाती तथा मुटु, मस्तिष्क तथा नसा, हाडजोर्नी, मानसिक, नवजात शिशु तथा बालरोग, नाक, कान तथा घाँटी र स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा उपलब्ध छन्।
त्यसैगरी अस्पतालमा दूरबिन प्रविधिबाट शल्यक्रिया, ओपीडी, बिरामी भर्ना, माइनर तथा मेजर अप्रेसन, एक्स–रे, भिडियो एक्स–रे, मेडिकल ल्याब र २४ घण्टा फार्मेसी सेवा पनि सञ्चालनमा रहेका छन्। आईसीयू सेवा थपिएसँगै गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने थारुको भनाइ छ। कोहलपुर तथा आसपासका क्षेत्रका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पतालले सेवा विस्तारलाई प्राथमिकता दिएको प्रबन्ध निर्देशक डा. थारुले बताए ।







