कोहलपुर । नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा बाँकेले कोहलपुर नगरपालिका ११ स्थित थापा मेडिकल हलका सञ्चालक गणेशबहादुर थापामाथि भएको भनिएको हातपात, कुटपिट तथा अभद्र व्यवहारको घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ।
संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै औषधि उपचारका क्रममा संवेदनशील अंग छोएको आरोप लगाउँदै थापामाथि हातपात तथा अभद्र व्यवहार गरिएको र घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
संघले आरोपको सत्यतथ्य निष्पक्ष छानबिनबाट मात्रै बाहिर ल्याउनुपर्नेमा जोड दिँदै घटना पुष्टि हुनुअघि कसैको व्यक्तिगत तथा व्यावसायिक चरित्रमाथि प्रश्न उठाउने गरी सामाजिक सञ्जालमा सामग्री प्रसारण गर्नु उचित नभएको जनाएको छ।
औषधि व्यवसायीहरूले प्रचलित कानुनको अधीनमा रही स्वास्थ्य सेवा तथा राज्यको समग्र विकासमा योगदान दिँदै आएको उल्लेख गर्दै संघले व्यवसाय सञ्चालनका क्रममा औषधि पसलमा प्रवेश गरी गैरकानुनी रूपमा हातपात, कुटपिट वा अभद्र व्यवहार गर्नु गम्भीर विषय भएको जनाएको छ।
संघले घटनाको निष्पक्ष छानबिन गरी आरोप र प्रमाणबीच स्पष्ट भिन्नता कायम गर्न तथा दोषी देखिए कानुनी प्रक्रियाअनुसार कारबाही गर्न माग गरेको छ। साथै, औषधि व्यवसायीको व्यक्तिगत तथा व्यावसायिक सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको छ।
संघका कार्यवाहक अध्यक्ष पवनकुमार बानियाँद्वारा जारी विज्ञप्तिमा कानुनी प्रक्रियाको पालना गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्नेमा जोड दिइएको छ।







