कोहलपुर । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा भीमकान्त लामिछाने नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लामिछानेलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेकी हुन्। खजुराका स्थानीय लामिछाने शिक्षा तथा व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका व्यक्ति हुन्। उनले यसअघि भेरी प्राविधिक शिक्षालयको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।
अस्पतालको सेवा, व्यवस्थापन तथा पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउने अपेक्षासहित लामिछानेसहित समितिमा तीन जना नयाँ पदाधिकारी नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले समितिको सदस्यमा मधु न्यौपाने र सञ्जय पाण्डेलाई नियुक्त गरेको छ।
स्थानीयस्तरमै लामो समयदेखि सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय व्यक्तित्वको नेतृत्व अस्पताल विकास समितिमा आएपछि खजुराको क्यान्सर अस्पतालको सेवा विस्तार, व्यवस्थापन सुधार र स्थानीय आवश्यकतासँग जोडिएको विकासमा थप गति आउनेमा स्थानीयको अपेक्षा छ।
क्यान्सर उपचारका लागि बाँकेसहित लुम्बिनी प्रदेश र आसपासका जिल्लाका नागरिकको महत्वपूर्ण उपचार केन्द्रका रूपमा विकास हुँदै गएको छ ।







