नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एस मोडमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस सडकबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जाजरकोट भेरीगंगा–३ का ५० वर्षीय निर्जुङ खत्रीको मृत्यु भएको हो। घाइतेमध्ये बाँकेका अस्लाम भगवानको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेको अवस्था सामान्य तथा मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







