Friday, November 20, 2026

कोहलपुर। कोहलपुर नगर अस्पतालबाट एन्टि रेबिज भ्याक्सिन सेवा नियमित रूपमा सुरु भएको छ। कुकुर, बिरालो लगायतका जनावरको टोकाइ वा शंकास्पद सम्पर्कमा आएका नगरवासीले अब आवश्यक स्वास्थ्य परामर्श तथा एन्टि रेबिज भ्याक्सिन सेवा कोहलपुर नगर अस्पतालबाटै लिन सक्ने भएका छन्।
कोहलपुर नगर अस्पतालले सूचना जारी गर्दै असोज १९ गतेदेखि एन्टिरेबिज भ्याक्सिन सेवा नियमित रूपमा सञ्चालनमा आउने जनाएको हो।
यसअघि जनावरको टोकाइपछि एन्टि रेबिज भ्याक्सिन लगाउन नेपालगञ्जस्थित भेरी अस्पताल जानुपर्ने बाध्यता रहेको थियो। कोहलपुरमै सेवा सुरु भएपछि नगरवासीलाई उपचारका लागि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हट्ने भएको छ।
अस्पतालले जनावरको टोकाइ वा रेबिजको जोखिम देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक उपचार तथा खोप लिनसमेत आग्रह गरेको छ।