नेपाल मतदाता अधिकार मञ्च (NVRF) को पहलमा नेपालमा निर्वाचन सुधार र राजनीतिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय नागरिक समाज सञ्जालको बृहत भेला काठमाण्डैामा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय, दलित, महिला, मानव अधिकार र सुशासान क्षेत्रसँग सम्बद्ध विभिन्न संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले आफ्ना अनुभव, विचार तथा सुझावहरू साझा गर्दै सबैको समावेशी र प्रभावकारी राजनीतिक सहभागिताको आवश्यकता औंल्याएका थिए।
५४ वटा संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सञ्जाललाई अझ प्रभावकारी र सशक्त बनाउन थप दुई वटा कार्य समूह गठन गर्ने निर्णय गरिएको छ। ती कार्य समुहहरूले विशेष गरी अपाङ्गता भएका व्यक्तिहरू र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनितिक सहभागिता र प्रतिनिधित्व बढाउन पहल गर्ने जनाइएको छ भने यस अघि नै एउटा कार्य समुह बनाएर नेपालमा निर्वाचान सुधारका क्षेत्रमा पहल गरिदै आएको छ । यस कदमले सञ्जालको कार्यसम्पादनमा थप गति आउने विश्वास गरिएको छ।
कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष श्री भक्त विश्वकर्माज्यूले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले निर्वाचन सुधारका लागि साझा पहल र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। आयोजकका अनुसार यस प्रकारका कार्यक्रमले समावेशी लोकतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





