२०२६ पौष १७, बिहिबार

कोहलपुरका सागर गैरेको नियात्रा कृति राजधानीमा लोकार्पण

प्रशान्त महासागरदेखि काला सागरसम्म’ ले नेपाली नियात्रा साहित्यमा नयाँ आयाम थप्ने अपेक्षा
  • खबर लिड्
  • २०८३ असार २, मंगलवार १५:३२ गते

काठमाडौं ।  मोफसलमै बसेर निरन्तर साहित्य साधनामा सक्रिय साहित्यकार सागर गैरेको नवीन नियात्रा कृति ‘एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि काला सागरसम्म’ राजधानी काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।
माया पब्लिकेसन्सद्वारा आयोजित कार्यक्रममा नियात्रा साहित्यका अग्रज स्रष्टा, साहित्यकार, पत्रकार तथा पाठकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कृतिको सामूहिक लोकार्पण गर्दै वक्ताहरूले यसलाई नेपाली नियात्रा साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने कृतिका रूपमा व्याख्या गरेका छन्।

लेखक सागर गैरेले पुस्तकमा मलेसिया, भियतनाम, गोवा, फिलिपिन्स र जर्जियाको भ्रमणका क्रममा देखिएका समाज, संस्कृति, इतिहास, प्रकृति र मानवीय अनुभूतिलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको बताए। उनका अनुसार यात्रा केवल स्थान परिवर्तन नभई आत्मअन्वेषण र विश्वलाई बुझ्ने माध्यम पनि हो।
कार्यक्रममा बोल्दै नियात्राकार युवराज नयाँघरे, प्रतीक ढकाल, दामोदर पुडासैनी ‘किशोर’, जय छाङ्छा र भवानी खतिवडाले कृतिले भूगोल मात्र नभई सभ्यता, संस्कार, जीवनशैली र मानवीय संवेदनालाई समेत उजागर गरेको धारणा राखे। उनीहरूले पुस्तकलाई तथ्य, अनुभूति र साहित्यिक सौन्दर्यको सन्तुलित संगमका रूपमा चित्रण गरे।
वक्ताहरूले कोहलपुर जस्तो मोफसलबाट सिर्जना भएको यो कृतिले नेपाली साहित्यको भौगोलिक दायरा विस्तार गर्नुका साथै युवा पुस्तामा अध्ययन, अनुसन्धान र यात्राप्रतिको रुचि बढाउने विश्वास व्यक्त गरे।
पुस्तकमा प्रशान्त महासागरको किनारादेखि युरोप–एसियाको संगम क्षेत्र कालासागर आसपाससम्मका यात्राका अनुभव समेटिएका छन्। विभिन्न देशका समाज, संस्कृति र जीवनशैलीलाई नेपाली भाषामा अभिलेखीकरण गर्ने प्रयासका कारण कृतिलाई महत्त्वपूर्ण साहित्यिक दस्तावेजका रूपमा हेरिएको छ।
माया पब्लिकेसन्सका प्रबन्ध निर्देशक विनय दत्तको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कवि तथा पत्रकार नवीन अभिलाषीले गरेका थिए।

Web |  + posts
ट्रेण्डिङ