२०२६ पौष १७, बिहिबार

साइबर अपराध नियन्त्रण र महिला सुरक्षाबारे प्रशिक्षण

  • खबर लिड्
  • २०८३ जेष्ठ ९, शनिबार २२:२७ गते

कोहलपुर । बाँकेको कोहलपुरमा साइबर अपराध तथा महिला–बालबालिकामाथि हुने अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिका का दलित महिला जनप्रतिनिधि, कलेज तथा क्याम्पसमा अध्ययनरत किशोरी एवं महिलाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुर अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी इन्चार्ज प्रहरी निरीक्षक सानु श्रेष्ठ ले प्रशिक्षण दिनुभएको थियो । उहाँले पछिल्लो समय बढ्दै गएको साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, महिला हिंसा, घरेलु हिंसा तथा सामाजिक अपराधका विविध पक्षबारे सहभागीलाई व्यवहारिक जानकारी दिनुभएको थियो ।
प्रहरी निरीक्षक श्रेष्ठले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, अनलाइन ठगी तथा दुर्व्यवहारबाट कसरी जोगिने भन्ने विषयमा विशेष रूपमा प्रशिक्षण दिँदै सचेत नागरिक बन्न आग्रह गर्नुभयो । उहाँले महिलामाथि हुने हिंसा र अपराध विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज को सहयोगमा कोहलपुरमा सञ्चालन भएको ६ दिने कार्यक्रमको तेस्रो दिन ३० जना महिलाले प्रशिक्षण लिएको कार्यक्रम संयोजक टिकाराम उपाध्याय ले जानकारी दिनुभयो ।
कार्यक्रमले महिलाहरूमा कानुनी सचेतना, आत्मविश्वास र डिजिटल सुरक्षाबारे महत्वपूर्ण ज्ञान अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन् । पछिल्लो समय बढ्दो साइबर अपराध र महिला हिंसाका घटनालाई न्यूनीकरण गर्न यस्ता प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने कार्यक्रम संयोजक उपाध्यायको भनाइ छ ।

Web |  + posts
ट्रेण्डिङ