२०२६ पौष १७, बिहिबार

राप्ती सोनारीमा रहस्यमय प्राचीन ढुङ्गा फेला, इतिहासको नयाँ अध्याय खुल्ने संकेत

  • खबर लिड्
  • २०८३ असार २, मंगलवार १२:३५ गते

राप्ती सोनारी, बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम क्षेत्रमा पुरातत्व विभागको टोलीले गरेको खोज तथा अनुसन्धानका क्रममा विशेष प्रकृतिका प्राचीन ढुङ्गाहरू फेला परेका छन्। प्रारम्भिक अध्ययनमै ती ढुङ्गाहरू सामान्य चट्टानभन्दा फरक देखिएपछि यसले क्षेत्रको पुरानो इतिहास र सभ्यतासँग सम्बन्धित महत्वपूर्ण तथ्य उजागर गर्न सक्ने अनुमान गरिएको छ।

अनुसन्धान टोलीले भेटिएका ढुङ्गाहरू गाउँपालिका अध्यक्षलाई अवलोकन गराउँदै थप वैज्ञानिक परीक्षण तथा अध्ययनका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ। केही ढुङ्गामा देखिएका विशेष चिन्ह, आकृति तथा बनावटले मानव गतिविधि वा प्राचीन संस्कृतिसँग सम्बन्ध हुन सक्ने संकेत गरेको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ।

यद्यपि यी वस्तुहरूको वास्तविक महत्व, उमेर र उत्पत्तिबारे निष्कर्ष निकाल्न प्रयोगशाला परीक्षण तथा विशेषज्ञ अध्ययन आवश्यक रहेको बताइएको छ। पुरातत्वविद्हरूले विस्तृत अनुसन्धानपछि मात्रै यी ढुङ्गाहरूको ऐतिहासिक मूल्य निर्धारण गर्न सकिने बताएका छन्।
गाउँपालिका अध्यक्षले सम्भावित पुरातात्विक सम्पदाको संरक्षण गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। उहाँले राप्ती सोनारीको ऐतिहासिक पहिचान उजागर गर्ने यस्ता खोजहरूलाई आवश्यक सहयोग र संरक्षण प्रदान गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
यस खोजले स्थानीयवासीमा उत्साह थपेको छ। यदि प्रारम्भिक अनुमान सही सावित भएमा राप्ती सोनारी क्षेत्र नेपालको पुरातात्विक नक्सामा नयाँ महत्वका साथ स्थापित हुन सक्ने विश्वास गरिएको छ।

Web |  + posts
ट्रेण्डिङ