
कोहलपुर । बाँके जिल्लामा पछिल्लो समय स्थानीय प्रशासनको नियम उल्लंघन गर्दै सञ्चालन हुने दोहोरी साँझ तथा डान्सबारहरूको संख्या बढ्दै गएको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन् । निर्धारित समयभन्दा धेरै रातिसम्म सञ्चालन हुने यस्ता व्यवसायका कारण समाजमा आपराधिक गतिविधि, झैझगडा, मदिरा दुव्र्यसन तथा असुरक्षा बढेको गुनासो स्थानीयको छ ।
स्थानीयका अनुसार नेपालगञ्ज, कोहलपुर लगायतका बजार क्षेत्रमा सञ्चालित केही दोहोरी साँझ र डान्सबारहरू प्रशासनले तोकेको समयभन्दा बाहिर राति ३ बजेसम्म सञ्चालन हुने गरेका छन् । विशेषगरी रातिको समयमा होहल्ला, मदिरा सेवनपछि हुने झगडा तथा युवायुवतीको अवाञ्छित जमघटले समाजमा नकारात्मक असर परेको उनीहरूको भनाइ छ ।
“प्रशासनले राति निश्चित समयपछि व्यवसाय बन्द गर्न निर्देशन दिएको भए पनि व्यवहारमा कार्यान्वयन भएको देखिँदैन,” एक स्थानीयले गुनासो गर्दै भने, “केही व्यवसाय प्रहरीकै संरक्षणमा खुलेआम चलिरहेका छन् भन्ने आम बुझाइ बनेको छ ।”
स्थानीय बासिन्दाले प्रहरी प्रशासन र सम्बन्धित निकायको मौनतामाथि समेत प्रश्न उठाएका छन् । उनीहरूले प्रभावकारी अनुगमन, नियम उल्लंघन गर्ने व्यवसायमाथि कारबाही तथा रात्रीकालीन गतिविधि नियन्त्रण गर्न माग गरेका छन् ।
यता, प्रहरी प्रशासनले भने नियमविपरीत सञ्चालन हुने व्यवसायमाथि निगरानी बढाइएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । तर स्थानीयले भने व्यवहारमा कडाइ नभएको आरोप लगाउँदै आएका छन् ।
बाँकेमा पछिल्लो समय शान्ति सुरक्षा र सामाजिक मर्यादासँग जोडिएका विषयमा स्थानीय तह, प्रशासन र सुरक्षानिकायबीच समन्वय गरेर ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरू बताउँछन् ।