
कोहलपुर (बाँके) । मुख्य राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुञ्जको शमशेरगन्ज–अगैया सडक खण्डमा पर्ने वनपथ क्षेत्र पानीमुहान नजिक राजमार्ग छिचोल्दै गरेको पाटेबाघको दुर्लभ दृश्य क्यामेरामा कैद भएको छ।
नेचर गाइड एशोसियसनका अध्यक्ष भिम डाँगीले बाघ राजमार्ग पार गर्दै गरेको आकर्षक तस्बिर खिच्न सफल भएका हुन। निकुञ्ज क्षेत्रभित्र बाघको सहज आवतजावत र सक्रिय उपस्थितिलाई यस तस्बिरले पुष्टि गरेको छ।

वन्यजन्तु संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको उक्त दृश्यले बाँके राष्ट्रिय निकुञ्जमा बाघको वासस्थान सुरक्षित रहेको संकेत गरेको संरक्षणकर्मीहरूले बताएका छन्। साथै, निकुञ्ज क्षेत्र हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई वन्यजन्तुप्रति संवेदनशील भई सावधानी अपनाउन पनि आग्रह गरिएको छ। राजमार्ग छिचोल्दै गरेको बाघको यो भव्य दृश्यले वन्यजन्तु संरक्षण र प्राकृतिक सम्पदाप्रति सर्वसाधारणको चासो अझ बढाउने विश्वास गरिएको छ।