२०२६ पौष १७, बिहिबार

पिपिरी चोकमा आगलागी, ग्यास सिलिन्डर पड्किँदा पनि मानवीय क्षति भएन

  • खबर लिड्
  • २०८३ जेष्ठ २४, आईतवार १८:२५ गते

कोहलपुर, बाँके। कोहलपुर नगरपालिका–८ पिपिरी चोकस्थित तारा पुनको घरमा लागेको आगो नेपाल प्रहरी, नगर प्रहरी, दमकल तथा स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा आएको छ।
दिउँसो करिब ३:१५ बजे सुरु भएको आगलागी कोहलपुर नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा करिब ३:५० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ।
कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार विद्युत् तार सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। आगलागीका क्रममा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्रीमा क्षति पुगेको छ। आगो लागेको बेला घरभित्र रहेको एक ग्यास सिलिन्डर समेत पड्किएको बताइएको छ।
यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको नगर प्रहरी प्रमुख थापाले जानकारी दिएका छन्। प्रहरी, नगर प्रहरी र स्थानीयवासीको तीव्र प्रयासका कारण घरभित्र रहेका केही सामान सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको जनाइएको छ।
समयमै आगो नियन्त्रणमा आएकाले छिमेकी घरहरूमा आगो फैलिन नपाई ठूलो दुर्घटना हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन्।
आगलागीबाट भएको कुल आर्थिक क्षतिको विवरण भने हालसम्म खुल्न सकेको छैन। घटनाको कारण र क्षतिको यथार्थ विवरण संकलन गर्न प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Web |  + posts
ट्रेण्डिङ