२०२६ पौष १७, बिहिबार

अत्यधिक गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द

  • खबर लिड्
  • २०८३ जेष्ठ २४, आईतवार १७:५५ गते

कोहलपुर (बाके) । अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। बढ्दो तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ।
कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रबिलाल मिजारका अनुसार नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जेठ २५ गतेदेखि २७ गतेसम्म तीन दिनका लागि पठनपाठन स्थगित गरिएको हो। अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा डिहाइड्रेसन, लु लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानीस्वरूप बिदा दिइएको उनले बताए।
पछिल्ला दिनहरूमा बाँकेसहित तराईका विभिन्न जिल्लामा तापक्रम निरन्तर बढ्दै गएको छ। गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएको अवस्थामा विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले अभिभावकलाई पनि बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन, पर्याप्त पानी पिउन लगाउन तथा अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन आग्रह गरेको छ। मौसममा सुधार आएपछि विद्यालयको नियमित पठनपाठन सञ्चालन गरिने जनाइएको छ।

Web |  + posts
ट्रेण्डिङ