
कोहलपुर । बाँकेको कोहलपुर मा अत्यधिक गर्मी बढिरहेका बेला युवाहरूको एक समूहले मानविय सेवाको उदाहरण प्रस्तुत गरेको छ । कोहलपुर–११ का सचेत युवा अभियान्ताहरूले सडकमा हिँड्ने बटुवा, मजदुर, सवारी चालक तथा सर्वसाधारणलाई नि:शुल्क शुद्ध खानेपानी वितरण गर्दै गर्मीबाट राहत दिने प्रयास गरेका हुन् ।

पछिल्ला केही दिनयता तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएपछि दैनिक कामकाजका लागि सडकमा निस्कने नागरिकहरूलाई समस्या हुन थालेको छ । चर्को घाम र तातो हावाले सर्वसाधारणलाई हैरानी बढाइरहेका बेला युवाहरूले सडकमै खानेपानी वितरण अभियान सञ्चालन गरेका हुन् ।
युवा अभियान्ता दिपक गिरी का अनुसार हालसम्म करिब २ हजारभन्दा बढी बटुवालाई शुद्ध खानेपानी वितरण गरिएको छ । उनले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनाले अभियान सञ्चालन गरिएको बताए ।

“गर्मी अत्यधिक बढिरहेको छ । सडकमा हिँड्ने धेरै मानिसहरू पानी नपाएर समस्या झेलिरहेका देख्यौं । त्यसैले साथीहरू मिलेर केही भए पनि राहत पुगोस भन्ने उद्देश्यले नि:शुल्क पानी वितरण गरेका हौं,” गिरीले भने ।
स्थानीय युवाहरूको सक्रियतामा सञ्चालन गरिएको उक्त अभियानप्रति सर्वसाधारणले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । पानी पिएपछि धेरै बटुवाले युवाहरूको कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

युवाहरूले आगामी दिनमा पनि मौसमको अवस्था हेरेर यस्ता सामाजिक तथा मानवीय अभियानलाई निरन्तरता दिने बताएका छन् । उनीहरूले सामाजिक सेवामा सबै युवाहरू एकजुट हुनुपर्ने आवश्यकता समेत औंल्याएका छन् ।
अत्यधिक गर्मीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने भएकाले चिकित्सकहरूले पनि पर्याप्त पानी पिउन, अनावश्यक रूपमा घाममा ननिस्कन र स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।